न्युजिल्यान्डमा रहेका नेपालीहरूको संस्थाले भोटेकोशी–रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ । काठमाडौँ — न्युजिल्यान्डमा रहेका नेपालीहरूको संस्था न्युजिल्यान्ड नेपाल सोसाइटी इन्कर्पोरेटेडले भोटेकोशी–रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ८१ हजार ५१७ अमेरिकी डलर १५ सेन्ट अर्थात् नेपाली रुपैयाँ १ करोड २६ लाख ८५५ रुपैयाँ ८३ पैसा बराबरको सहयोग प्रदान गरेको छ । उक्त रकम प्रतिनिधिसभा सदस्य राम लामाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खडकराज पौडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरणका क्रममा मन्त्री पौडेलले विपद्का बेला मातृभूमिप्रतिको जिम्मेवारीबोधका साथ सहयोग जुटाउने न्युजिल्यान्ड नेपाल सोसाइटी तथा त्यहाँ रहेका सम्पूर्ण नेपाली दाताहरूप्रति धन्यवाद व्यक्त गरे । सोसाइटीका अध्यक्ष रोशन खड्काले नेपालमा विपद् आइपर्दा विदेशमा रहेका नेपालीहरू सधैँ मातृभूमि र नेपाली जनताको साथमा रहने बताए ।उनले आगामी दिनमा पनि आवश्यकताअनुसार नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
बाढीपीडितका लागि न्युजिल्यान्ड-नेपाल सोसाइटीको १ करोड २६ लाख सहयोग