LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सरकारी कर्मचारी भएकै कारण यति ठूलो सजाय किन?

अहिलेको समयमा मेरा दुवै दाजुहरू उच्च तहका सरकारी कर्मचारी हुन्। उनीहरूले गाउँमा दुःख गरेर पढे, मुखियादेखि सरकारी सेवामा छिरेका दाइहरू अहिले उच्च तहमा छन्। आजसम्म उनीहरूको नाम गलत तरिकाले कहीँकतै उल्लेख भएको छैन। हाम्रो गाउँमा इमानदारिताको नाम कसैले लिन्छ भने मेरै दाइको लिन्छन्, यो कुरा मैले मेरा दाइ भनेर मात्रै भनेकी होइन, उनीहरूको इमानदारिताको कदर गरेरै भनेको हुँ। सधैँ इमानदारिताका कुरा सिकाउने, अरूलाई पढ्न प्रेरित गर्ने, युवापुस्तालाई हौसला दिने मेरा दाइहरूले मिलेर सहरमा एउटा घर बनाएका थिए, त्यो घरमा मेरा वृद्ध बाआमा र दाइका छोराछोरी बस्थे। दाइभाउजूहरू बिदाको बेलामा मात्रै सँगै हुने हो, फरकफरक ठाउँमा सरुवा हुन्थ्यो, एकै ठाउँमा चाडपर्व या त बिदाको दिनमा मात्रै भेटघाट हुन्थ्यो। पोहोर साल जेनजी आन्दोलन भयो, दाजुभाउजू आ–आफ्नो ड्युटीमा हुनुहुन्थ्यो। घरमा वृद्ध बाआमा र साना केटाकेटी मात्रै थिए। देशैभरि आन्दोलनको डढेलो फैलिरहेको थियो, टिभीमा समाचार हेर्दै जीउ जिरिङ्ग भइरहेको थियो। ठूलाठूला नेता, मन्त्री, सांसद, ठूलाठूला सरकारी भवन सबैतिर आगोको ज्वाला दन्किरहेको थियो। सिंहदरबारमा पनि आगो लागेपछि अब देश सकियो भन्ने लाग्यो, त्यत्तिकैमा दाइको छोराले फोन गर्यो, 'फुपू हाम्रो घरमा पनि आगो लगाउने मान्छे आए ?' 'हाम्रो घर फुटाउन खोज्दै छन्, हजुरबुवालाई त कति धेरै गाली गरे, हजुरआमाले यसो नगर बाबु हो भन्दा पनि उल्टै गाली गरे. ' बाबामम्मीको फोन लागेन फुपू म लुकेर फोन गरेको! अब हामी कहाँ जाने ? म ५ महिनाको सुत्केरी थिएँ, गाडीमा आधा घण्टाको दूरी थियो घर माइतीको। दाजुभाउजू बाहिर भएपछि भाइबहिनीहरू मसँग धेरै नजिक हुन्थेँ। म एक्ली छोरी भएका कारण पनि माइतीमा सबैकी प्रिय थिएँ र छु पनि। काखमा सानो बच्चा छ, उता भदा भाइले रोएर फोन गरेको छ, सासू आमालाई बच्चा जिम्मा लगाएर हतारहतार माइतीमा पुगेँ। बाआमा घरबाट तल बाटोमा आएर मलिन अनुहारमा बसेको देखेँ। मलाई देख्नासाथ बाआमा रूनुभयो। दाइभाउजू पनि घरमा छैनन्, अब के गर्ने? त्यतिबेला मैले बाआमासँग भन्ने खालको कुनै शब्द थिएन। तपाईंहरू यहीँ बस्नु है भनेर घरभित्र छिरेँ, कोही मुखमा पट्टी बाँधेका, कोही रक्सीको नशामा चुर भएका, गन्धले नजिक जान नसक्ने अवस्थाका करिब बीस जना जति केटाहरूले मेरो माइतीघर आगो लगाउन भनेर गएका रहेछन्। उमेरले पचासी वर्ष पुग्नुभएका बा र बयासी वर्षकी आमा अनि दश/एघार वर्षका भाइबहिनीहरूले हारगुहार गरेछन्, आन्दोलनकारीको पाउ समाएछन्, हाम्रो घर नजलाइदिनु भन्दै बिन्ती गरेछन् अनि बाआमालाई गाली गर्दै तल भुइँमा ओरालेछन् अनि आगो नलगाइकन घर फुटाउन लागेछन्। घरमा फुट्ने चिज म जाँदासम्म कुनै पनि बाँकी थिएन। म घर पुग्दा पन्ध्र जना जति तल उभिएका थिए, हातमा फलामका रडजस्ता सामान बोकेर, चार पाँच जना माथिल्लो तलामा थिए, बाँकी रहेका सामान फुटाउँदै। हेर्दै डरलाग्दा, गन्धले नजिक पर्न नसक्ने, केही नबोली माथिल्लो तलामा पुगेँ, मेरा बाको चौरासी पूजाको फोटो भित्तामा ठूलो बनाएर झुन्ड्याइएको थियो, त्यो फोटो आधिमात्रै थियो। दाइभाउजूका सम्मानपत्र, पुरस्कार, साना भाइबहिनीका स्कुलका मेडल, बाआमाका फोटो कुनै सग्ला थिएनन्। बाआमाले दिउँसोभरि हेर्ने टिभी भुइँमा लडिरहेको थियो, वासिङ मेसिन, फ्रिज छतबाट उचालेर भुइँमा फालेका रहेछन्, सिसा कुनै झ्यालमा बाँकी थिएनन्, घरैभरि सिसाका टुक्राटुक्रा। अब अर्को हाकिमको घर कता हो? अर्कातिर निशाना गर्दै उनीहरू हिँडे। मैले मेरो श्रीमानलाई फोन गरेँ, उहाँ पनि बाहिरै हुनुहुन्थ्यो, ज्यान जोगियो त्यही ठूलो कुरा हो। धन्न बाआमा घरभित्रै माथि नै भएको बेलामा आगो लगाएनछन् भन्नुभयो। दाइभाउजूलाई फोन गरेँ, उहाँहरू न आउन सक्ने अवस्थामा न पीडा सुन्न सक्ने अवस्थामा हुनुहुन्थ्यो। देशै जलेको छ, बाआमाको ख्याल गर्नु पछि कुरा गरौँला भन्दै दाइको फोन काटियो। छिमेकी बोलाएर घर सफा गर्यौँ। मेरो नन्द आएर बाआमा र भाइबहिनीलाई मेरो घरमा लगेर जानुभयो। त्यो घरको हालत देखेर बाआमा कसरी निदाउन सक्नुहोला भन्ने पीडा भयो। मेरा दाइभाउजूले कतिधेरै रगतपसिना बगाएर बनाएको घर, मेरा बाआमाको सपनाको घर.

Sign in with Google to open the full article.