LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आईजीपी नियुक्ति विधिसम्मत छ : गणेश पराजुली

दानबहादुर कार्कीलाई सरकारको निर्णयविरुद्ध अदालत जाने र आफूमाथि भएको निर्णयको न्यायिक परीक्षण गराउने अधिकार रहेको रास्वपाका संसदीय दलका उपनेता पराजुलीले बताए । काठमाडौँ — रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विधिसम्मत भएको बताएका छन् । कान्तिपुर टेलिभिजनको टक शो 'फायरसाइड' मा कुराकानी गर्दै पराजुलीले भने, 'आईजीपीमा मनोज केसीको नियुक्ति कानुनसम्मत भएको हो,' उनले भने । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले बुधबार जिम्मेवारीबाट अलग गर्दै एआईजी मनोज केसीलाई आईजीपी नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने निर्णय भएको जानकारी दिएका थिए । पराजुलीले संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताए । उनले निर्णय प्रक्रियामा कानुनी प्रक्रिया (ड्यु प्रोसेस अफ ल) पालना हुनुपर्नेमा जोड दिए । कानुन सबै नागरिकका लागि बराबर हुने उल्लेख गर्दै उनले प्रधानमन्त्री, मन्त्री वा ठूलो दलका लागि छुट्टै कानुन नहुने बताए । 'हामी संविधान र कानुनभन्दा माथि हुन सक्दैनौं । विधिको शासन स्थापना हुनुपर्छ । नेपाली जनतासँग वाचा गरेर आएका हौं,' उनले भने । कार्कीलाई सरकारको निर्णयविरुद्ध अदालत जाने र आफूमाथि भएको निर्णयको न्यायिक परीक्षण गराउने अधिकार रहेको पनि उनले बताए । 'आईजीपीलाई अदालतको ढोका ढकढक्याउने र आफूमाथि गरिएको निर्णयमाथि न्यायिक जाँच गर्न सक्ने सुविधा छ,' उनले भने । पराजुलीले कार्कीलाई जिम्मेवारीबाट अलग गर्ने निर्णय रास्वपा संसदीय दलले नगरेको पनि स्पष्ट पारे । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.