जलविद्युत् आयोजना, सडक विस्तार र अव्यवस्थित सहरीकरणले नेपालका संवेदनशील हिमाली क्षेत्रमा बाढीको जोखिम बढेको छ । यसबाट कम्तीमा १ लाख ८ हजार ५ सय जना प्रभावित हुन सक्ने नयाँ अध्ययनले देखाएको छ । काठमाडौँ — नेपालको उच्च हिमाली क्षेत्रमा बस्ती विस्तार हुँदै जाँदा कम्तीमा १ लाख ८ हजार ५ सय जना बाढीको जोखिममा रहेका छन् । सन् २०१६ देखि २०२३ सम्म बाढीको जोखिम भएका क्षेत्रमा भवनको संख्या ७८ प्रतिशतले बढेको एक अध्ययन ले जनाएको छ । १० भदौको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि सार्वजनिक यो प्रतिवेदनले अझ झस्काएको छ । भोटेकोशी बाढी नदीको सतहभन्दा ८२ मिटरसम्म माथिका बस्तीमा पुगेको थियो । यसबाट १ हजार ४ सय ५५ जनाको मृत्यु भएको थियो भने ५ हजार २८५ जना अझै बेपत्ता छन् । विश्वव्यापी तापक्रम बढ्दै जाँदा रसुवा-भोटेकोशीमा जस्तै एकपछि अर्को विपद् निम्त्याउने र त्यसको असर थप गम्भीर बनाउने घटनाहरू अझ बढी हुन सक्ने अध्ययनले औँल्याएको छ । हिमाली क्षेत्रमा तापक्रम वा वर्षामा थोरै परिवर्तन हुँदा पनि त्यसको ठूलो असर हिमनदी र तल्लो तटीय क्षेत्रका नदीमा पर्न सक्छ । पहाडी भूभागको बनोटका कारण यस्तो असर अझ बढी हुने नेचर पोर्टफोलियो जर्नलमा प्रकाशित अध्ययनले जनाएको छ । हालैका अध्ययनअनुसार, हिमालय क्षेत्रमा जाडो याममै तापक्रम ३ डिग्री सेल्सियससम्म बढेको छ । औद्योगिक युग सुरु हुनुअघिको तुलनामा विश्वको औसत तापक्रम १. ४ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै, हिन्दुकुश क्षेत्रमा हिमनदी पग्लिने दर दोब्बर भएको छ । ६ वर्षअघि नेपालले गण्डकी, कोशी र कर्णाली नदी बेसिनमा २१ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । त्यसयता यस्ता हिमतालको संख्या र आकार दुवै बढेको हुन सक्ने अनुमान छ । अध्ययन टोलीका सदस्य तथा काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञान विभागका सहायक प्राध्यापक मोहनबहादुर चन्दले हिमालबाट आउने बाढीको जोखिममा कति मानिस र घरहरू छन् भनेर अध्ययन गरिएको बताए । ‘पहिलो चरणमा हामीले नदीको हालको सतहभन्दा ५० मिटर माथिसम्म रहेका घर र जनसंख्या पहिचान गर्यौँ । दोस्रो चरणमा हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) को सम्भावित बहावको नमुना तयार पारेर पानी कति टाढासम्म पुग्न सक्छ र कुन घरहरू प्रभावित हुन सक्छन् भन्ने अध्ययन गर्यौँ,’ सहायक प्राध्यापक चन्दले भने । अध्ययनका लागि नेपालको जनगणनासहित सार्वजनिक रूपमा उपलब्ध घरधुरी र जनसंख्यासम्बन्धी तथ्यांक प्रयोग गरिएको थियो ।.
उच्च हिमाली क्षेत्रमा संरचना निर्माण तीव्र, बस्ती नै सम्भावित बाढीको बाटोमा