सोलुखुम्बुको दिङ्बोचेस्थित होटलको करिब ५० जना बस्ने भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ । काठमाडौँ — सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ स्थित दिङ्बोचेको एक होटलमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ११ बजेतिर होटल गुडलकमा आगो सुरु भएको थियो । 'ग्यास पड्किएर किचनबाट आगो लागेको प्रारम्भिक अनुमान गरेका छौं,' सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले भने, '२ घण्टामा आगो नियन्त्रणमा लिइसकिएको छ ।' उनका अनुसार करिब ५० जना बस्ने भवनमा क्षति पुगेको छ । होटलको मुख्य भवन भने सुरक्षित छ । अहिले यहाँ हिमपात जारी रहेको र करिब एक फिट जमिसकेको उनले बताए । दिङ्बोचे सगरमाथा आधार शिविर जाने रुटमा पर्छ । सोलुखुम्बुको नाम्चे बजारमा रहेका होटलका सञ्चालक कुलबहादुर तामाङले आफू हेलिकोप्टरमा जान लागेको बताए ।आगलागीको खबर पाएपछि उद्धारका लागि हेलिकोप्टर आउने तयारी भइरहेको उनले जानकारी दिए । 'प्रारम्भिक जानकारीअनुसार ग्यासबाट आगलागी भएको भन्ने छ,' टेलिफोन सम्पर्कमा उनले भने, 'घटना सुनेर म निकै तनावमा छु ।' सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्। यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
दिङ्बोचेको गुडलक होटलमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा