शनिबार बिहान कैदी गणनाका क्रममा उनीहरू नपुगेपछि घटना खुलेको हो, प्रहरीले खोजी र प्रशासनले घटनाबारे छानबिन अघि बढाएका छन्। काठमाडौँ — डोल्पा कारागारबाट शनिबार बिहान सुरुङ खनेर फरार भएका आठ कैदीको पहिचान खुलेको छ। फरार हुनेमा रुकुमपश्चिमका तीन, जाजरकोटका दुई, डोल्पाका दुई र सल्यानका एक जना छन्। फरार हुनेमा रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी, सोही नगरपालिकाको वडा नम्बर ३ का ३२ वर्षीय निशान भनिने आदेश भण्डारी र वडा नम्बर ५ का ३८ वर्षीय तिलक भण्डारी छन्। त्यस्तै सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार र बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक पनि फरार भएका छन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया र वडा नम्बर ४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा पनि फरार हुनेमा छन्। उनीहरू शनिबार बिहान कारागारबाट सुरुङ खनेर फरार भएका हुन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले कैदी फरार भएको घटनामा छानबिन गरिरहेको छ । झन्डै चार मिटर लामो सुरुङ खनेर कैदीहरु फरार भएका थिए । शनिबार बिहान कैदी गणना गर्दा आठ जना नपुगेपछि मात्र उनीहरु फरार भएको कुरा खुलेको थियो । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
यी हुन् डोल्पा कारागारबाट सुरुङ खनेर भाग्ने आठ कैदी