२७ करोड २२ लाख रुपैयाँ लागतको आयोजना पटक–पटक म्याद थप्दा पनि ४७ प्रतिशत मात्र प्रगति भएपछि सम्झौता रद्द गरिएको हो। काठमाडौँ — मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९. ५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ । २७ करोड २२ लाख रुपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ईलाम सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरेको हो । सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ। ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि.
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य