LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

गिटहबको ‘अक्टोभर्स’ प्रतिवेदनमा ‘भोटेकोशी बाढी’ पोर्टल उत्कृष्ट प्रोजेक्टमा समावेश

भोटेकोशी बाढीसम्बन्धी आधिकारिक सूचनालाई एकीकृत रूपमा प्रवाह गर्न तयार पारिएको ‘रसुवा–भोटेकोशी बाढी’ पोर्टललाई गिटहबले आफ्नो ‘अक्टोभर्स २०२६’ प्रतिवेदनमा वर्षकै उत्कृष्ट प्रोजेक्टका रूपमा उल्लेख गरेको छ । काठमाडौँ — सफ्टवेयर विकास र होस्टिङका लागि विश्वकै ठूलो प्लाटफर्म गिटहबले आफ्नो वार्षिक ‘अक्टोभर्स’ प्रतिवेदनमा यसपालि ‘रसुवा-भोटेकोशी बाढी’ पोर्टललाई उत्कृष्ट ओपन-सोर्स प्रोजेक्टअन्तर्गत समावेश गरेको छ । अर्थ मन्त्रालयमा कार्यरत आईटी इन्जिनियर निरज भुषाल ले तयार पारेको यो पोर्टलले आपत्कालीन समयमा विपद्को सही र एकीकृत सूचना प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गिटहबले यसलाई विशेष रूपमा उल्लेख गरेको हो । गिटहबले प्रत्येक वर्ष विश्वभरका विकासकर्ता, ओपन-सोर्स प्रोजेक्ट र कोडिङ अभ्यासमा देखिएका नयाँ-नयाँ प्रवृत्तिलाई समेटेर ‘अक्टोभर्स’ प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । बुधबार जारी गरिएको ‘अक्टोभर्स २०२६’ प्रतिवेदनले सफ्टवेयर विकासको क्षेत्रमा नयाँ कीर्तिमानी कायम भएको देखाएको छ । विगत १२ महिनामा विश्वभरका विकासकर्ताले १७. ९ अर्बपटक गिटहबमा ‘कोड पुस’ गरेका छन् । यो संख्या सन् २०२४ र २०२५ को संयुक्त संख्याभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा गिटहबमा जोडिने विकासकर्ताको संख्या २२ करोड ५० लाख नाघेको छ । यस वर्षको प्रतिवेदनले सफ्टवेयर निर्माण गर्दा एआई एजेन्टको व्यापक प्रयोगलाई प्रमुख प्रवृत्तिका रूपमा औँल्याएको छ । ‘सन् २०२६ को सेप्टेम्बरसम्म आइपुग्दा गिटहबमा सुरु गरिएका ४० प्रतिशतभन्दा बढी पुल रिक्वेस्ट वा कोड परिवर्तन गर्ने अनुरोध एआई एजेन्टको सहयोगमा तयार भएका थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘गत मार्चसम्म १७ प्रतिशत मात्रै पुल रिक्वेस्टहरू एआईको सहायतामा आउने गर्थे ।’ यो भनेको सफ्टवेयर डेभेलपरहरू आफैँले एक-एक कोड लेख्नुको सट्टा सुरुमा एआई एजेन्टलाई लेख्न लगाउने र एजेन्टले तयार पारेको कोडलाई पुनरावलोकन गरेर त्यसलाई आफ्नो आवश्यकताअनुसार परिमार्जन गर्न थालेका छन् । सफ्टवेयर विकास अब प्रविधि क्षेत्रमा मात्र सीमित नरही स्वास्थ्य, कृषि, निर्माण र खानीजस्ता क्षेत्रमा पनि तीव्र रूपमा विस्तार भइरहेको प्रतिवेदनमा उल्लेख छ । विश्वभरका स्थानीय विकासकर्ताले आफ्ना समुदायका प्रत्यक्ष समस्या समाधान गर्न ओपन-सोर्स प्रविधिको प्रयोग गरिरहेका छन् । यही विश्वव्यापी परिदृश्यमा नेपालका विकासकर्ताले स्थानीय विपद्को एकीकृत सूचना दिन निर्माण गरेको डिजिटल पोर्टलले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा र मान्यता पाएको हो ।.

Sign in with Google to open the full article.