LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

क्रिप्टो बजारमा खलबली मच्चाएको यो घटनापछि बिटक्वाइनको मूल्य ७६ हजार अमेरिकी डलरमा झरेको छ । इथरको मूल्य पनि दुई महिनायताकै न्यून विन्दुमा पुगेको छ । बाइनान्सको आफ्नै टोकन बीएनबीको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । काठमाडौँ — क्रिप्टोकरन्सी एक्सचेन्ज प्लाटफर्म ‘बाइनान्स’ मा अहिलेसम्मकै ठूलो ह्याकिङ आक्रमण भएको छ । सुरक्षा समस्याका कारण बाइनान्सबाट करिब ६. ३ अर्ब डलर मूल्य बराबरको क्रिप्टो फण्ड चोरी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । इतिहासै ठूलो क्रिप्टो हाइस्ट (चोरी) भनिएको यो घटनापछि बाइनान्सले करिब ३ अर्ब अमेरिकी डलर बराबरका क्रिप्टो सम्पत्ति रोक्का गरेको जनाएको छ । क्रिप्टो बजारमा खलबली मच्चाएको यो घटनापछि बिटक्वाइनको मूल्य ७६ हजार अमेरिकी डलरमा झरेको छ । इथरको मूल्य पनि दुई महिनायताकै न्यून विन्दुमा पुगेको छ । बाइनान्सको आफ्नै टोकन बीएनबीको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । बाइनान्सले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र चोरीबाट भएको सम्पूर्ण क्षति कम्पनीले बेहोर्ने जनाएको छ । रोयटर्स ले बाइनान्सको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार कम्पनीका एक डेभअप्स इन्जिनियरको ल्यापटपमा पहुँच बनाएर आक्रमणकारीले एउटा सर्भिस कन्टेनरमा प्रवेश पाएका थिए । त्यसपछि उनीहरूले अनधिकृत रूपमा रकम स्थानान्तरण गरेको कम्पनीले जनाएको छ । यद्यपि, कम्पनीले वालेटका निजी साँचो (प्राइभेट की) चुहिएको प्रमाण फेला नपरेको बताएको छ । बाइनान्सले घटनाबाट करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पत्तिमा प्रभाव परेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको बीबीसीले उल्लेख गरेको छ। ‘ह्याकिङबाट भएको सम्पूर्ण क्षति बाइनान्सले बेहोर्नेछ,’ कम्पनीकी सहसंस्थापक यी हेले भनेकी छन् । कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र क्षतिपूर्ति आफ्नै कोष तथा प्रयोगकर्ताका लागि छुट्याइएको सेक्योर एसेट फन्ड फर युजर्स (साफु) बाट उपलब्ध गराउने जनाएको छ । अनुसन्धानका क्रममा निक्षेप तथा रकम झिक्ने सेवा अस्थायी रूपमा बन्द गरिएको छ । चोरी भएको रकम पत्ता लगाउन कम्पनीले सुरक्षा निकाय तथा ब्लकचेन विश्लेषण संस्थाहरूसँग सहकार्य गरिरहेको जनाएको छ । क्रिप्टो क्षेत्रमा ठूलो रकम चोरी भएको यो पहिलो घटना भने होइन । सन् २०१८ जनवरीमा जापानी एक्सचेन्ज कोइनचेकबाट करिब ५३ करोड अमेरिकी डलर बराबरको क्रिप्टो चोरी भएको थियो । सन् २०२१ अगस्टमा पोलि नेटवर्कबाट ६१ करोड अमेरिकी डलर र सन् २०२२ मार्चमा रोनिन नेटवर्कबाट करिब ५४ करोड अमेरिकी डलर चोरी भएको थियो । सन् २०२५ फेब्रुअरीमा बाइबिट एक्सचेन्जबाट करिब डेढ अर्ब अमेरिकी डलर बराबरको क्रिप्टो चोरी भएको थियो। उक्त घटनामा उत्तर कोरियाली ह्याकरको संलग्नता रहेको अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको थियो ।.

Sign in with Google to open the full article.