बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा सोमबार बिहान विकसित ‘अर्नब’ सोमबार मध्यरातसम्म शक्तिशाली र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । काठमाडौँ — बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा रहेको गहिरो न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै सोमबार बिहान चक्रवाती आँधी ‘अर्नब’ मा परिणत भएको छ । सोमबार बिहान साढे ५ बजे आँधी बंगालको खाडीको पूर्वमध्य र आसपासको पश्चिममध्य क्षेत्रमा केन्द्रित थियो । यो भारतको अन्डमान टापुस्थित श्री विजयपुरमबाट ५९० किलोमिटर उत्तरपश्चिम, आन्ध्र प्रदेशको विशाखापट्टनमबाट ६५० किलोमिटर पूर्व–दक्षिणपूर्व र काकिनाडाबाट ७३० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ । यो आँधी सोमबार मध्यरातसम्म शक्तिशाली चक्रवाती आँधी र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । विभागका अनुसार चक्रवात बुधबार बिहान बापटला र विशाखापट्टनमबीच आन्ध्र प्रदेश–यानम तट पार गर्ने अनुमान छ । त्यसबेला हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र झोक्कासहित १४० किलोमिटरसम्म पुग्न सक्नेछ । चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिसाका तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । आन्ध्र प्रदेशका श्रीकाकुलम, पार्वतीपुरम मन्यम, विजयनगरम, अनकापल्ली र अल्लुरी सीताराम राजु जिल्लामा ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ । ती जिल्लामा २४ घण्टामा ११० देखि २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ । आन्ध्र प्रदेशकै काकिनाडा, एलुरु, पूर्वी गोदावरी, पश्चिमी गोदावरी, एनटीआर र कृष्णा जिल्लामा भने ‘रेड अलर्ट’ जारी गरिएको छ । ती जिल्लामा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । ओडिसाका गन्जाम, रायगढा, कोरापुट र मलकानगिरी जिल्लामा बुधबार अति भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ । यी चार जिल्लासहित गजपति जिल्लामा बिहीबार अति भारी वर्षाको पूर्वानुमान गर्दै ‘रेड अलर्ट’ जारी गरिएको छ । तटीय क्षेत्रमा बाढीको जोखिम चक्रवात तटमा पुग्ने समयमा आन्ध्र प्रदेशको तटीय क्षेत्रमा समुद्री सतह बढेर होचा भूभाग डुबानमा पर्न सक्ने चेतावनी दिइएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार काकिनाडा र यानम आसपास सामान्य ज्वारको सतहभन्दा १ देखि १. ५ मिटरसम्म समुद्री पानी बढ्न सक्छ । यसले तटीय बस्तीमा डुबानको जोखिम बढाउन सक्छ ।.
बंगालको खाडीमा बन्यो चक्रवात ‘अर्नब’, आन्ध्र प्रदेशका ६ जिल्लामा ‘रेड अलर्ट’