LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सिरियाको अग्लो सुरक्षा पोस्टमा १३ नेपाली महिला शान्ति सैनिक

टोलीकी कमान्डर सहसेनानी सङ्गीता श्रेष्ठले महिला शान्ति सैनिकले के गर्न सक्छन् भन्ने कुरा विश्वलाई देखाउने अवसर पाएको बताइन्। काठमाडौँ — सिरियाको माउन्ट हर्मोनस्थित समुद्री सतहबाट दुई हजार ८ सय १४ मिटर उचाइमा रहेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा पोस्टमा पहिलो पटक १३ नेपाली महिला शान्ति सैनिकको पूर्ण टोली परिचालित भएका छन् । टोलीकी कमान्डर सहसेनानी सङ्गीता श्रेष्ठले महिला शान्ति सैनिकले के गर्न सक्छन् भन्ने कुरा विश्वलाई देखाउने अवसर पाएको बताइन्। ‘हर्मोन होटल’ नामको उक्त पोस्टमा उनीहरुले २०२६ अक्टोबरको पहिलो साता जिम्मेवारी सम्हालेका हुन् । संयुक्त राष्ट्रसङ्घीय युद्धविराम पर्यवेक्षण बल अन्तर्गत खटिएको टोलीले सुरक्षा निगरानी, युद्धविरामको अवस्थाबारे सूचना सङ्कलन, घटनाको पहिचान तथा प्रमाणीकरण र प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ। गस्तीमा जाने सैनिकलाई सहयोग गर्नु पनि टोलीको जिम्मेवारीमा पर्छ। कठोर मौसम र चुनौतीपूर्ण भूगोलका कारण उक्त पोस्टमा नियमित निगरानी र सूचना सङ्कलन सहज छैन। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कठिन परिस्थितिका बाबजुद नेपाली महिला शान्ति सैनिकले जिम्मेवारी निर्वाह गरिरहेका छन्। उनीहरूको कार्यसम्पादनको संयुक्त राष्ट्रसङ्घलगायत सम्बन्धित निकायले प्रशंसा गरेको निर्देशनालयले जनाएको छ। सैनिक मुख्यालयका अनुसार विभिन्न संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा हाल २ सय ९७ जना नेपाली महिला शान्ति सैनिक कार्यरत छन्। कन्टिन्जेन्टमा खटिएका नेपाली शान्ति सैनिकमध्ये महिलाको हिस्सा ७. ४५ प्रतिशत छ। नेपाली सेनाले यो अनुपात १० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य राखेको छ। त्यस्तै, सैन्य पर्यवेक्षक, स्टाफ अफिसर तथा मिलिटरी लियाजन अफिसरका रूपमा आठ जना नेपाली महिला कार्यरत छन्। महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १३२५ ले द्वन्द्व रोकथाम, शान्ति स्थापना र शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागितालाई जोड दिएको छ। हर्मोन होटलमा १३ नेपाली महिला शान्ति सैनिकको परिचालनले अन्तर्राष्ट्रिय शान्ति मिसनमा महिलाको सहभागिता र जिम्मेवारी विस्तार भएको देखाएको छ। ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।.

Sign in with Google to open the full article.