परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । उनी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुनेछिन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदै छ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ । फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ । पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान